२७ औं पोखरा स्ट्रिट फेस्टिभलका लागि विशेष अभियान
पोखरा । पोखरालाई नेपालको एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा सम्मान गर्दै, गोर्खा ब्रुअरी र कार्ल्सबर्ग ग्रुपले २७ औं पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण अभियानको नेतृत्व गरेको छ ।
यो अभियान रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालिसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।
प्राकृतिक सौन्दर्य र पर्यटकीय आकर्षणका लागि प्रसिद्ध पोखराको पहिचान जोगाउन र पर्यटकको अनुभवलाई सुखद बनाउन सरसफाइ अपरिहार्य रहेको कम्पनीको भनाइ छ ।
ठूला सार्वजनिक महोत्सवमा उल्लेख्य मात्रामा फोहोर संकलन हुने हुनाले सहरलाई सधैं स्वच्छ र स्वागतयोग्य राखिराख्न दिगो फोहोर व्यवस्थापनको आवश्यकता रहन्छ ।
यस पहल अन्तर्गत गोर्खा ब्रुअरीले बोतल र क्यान, पुनः प्रयोग गर्न मिल्ने फोहोर र सुक्खा फोहोरका लागि छुट्टाछुट्टै डस्टबिन प्रदान गरेको छ, जसलाई लेकसाइड क्षेत्रका विभिन्न स्थानमा राखिएको थियो ।
यसले सर्वसाधारणलाई सही तरिकाले फोहोर विसर्जन गर्न प्रोत्साहित गरेको छ । संकलित फोहोरलाई भद्रकाली वेस्ट म्यानेजमेन्टले वातावरणीय रूपमा जिम्मेवार ढंगले प्रशोधन गर्ने सुनिश्चितता गरेको छ भने रेबानले स्थानीय रेष्टुरेन्ट र बारलाई यस अभियानमा सक्रिय रूपमा सहभागी गराएको छ ।
यस अभियानका बारेमा गोर्खा ब्रुअरीले भनेको छ, ‘पोखरा नेपालकै एक स्वच्छ र सुन्दर सहर हो, जसलाई पर्यटक र स्थानीय दुवैले उत्तिकै माया गर्छन् । फोहोर संकलनका लागि डस्टबिनहरू राख्ने यो कार्यले आजको महोत्सव मात्र नभई भविष्यमा पनि स्वच्छ पोखरा निर्माणमा सहयोग पुर्याउने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ ।’
महोत्सव अवधिभर मात्र सीमित नभई, यो पहललाई पोखरामा जिम्मेवार फोहोर व्यवस्थापनको अभ्यास बलियो बनाउन, जनचेतना जगाउन र दिगो पर्यटनलाई सघाउने एक दीर्घकालीन सहकार्यको रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ ।
यो अभियान वातावरणीय दिगोपन र सामुदायिक हितप्रतिको गोर्खा ब्रुअरीको निरन्तर प्रतिबद्धताको प्रतिफल हो, जसले नेपालभरि हुने उत्सवलाई जिम्मेवार रूपमा मनाउन प्रेरणा दिने लक्ष्य राखेको छ ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार
















