वीरगञ्जमा जारी कर्फ्यु १ बजेसम्म लम्बियो
काठमाडौं । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कफ्र्यु दिउँसो १ बजेसम्म लम्बिएको छ ।
स्थानीय प्रशासनले वीरगञ्जमा सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेकोमा थप लम्बिएको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।
कफ्र्यूको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नं मा फोन गरी बाहिर निस्कन प्रशासनले अनुरोध गरेको छ ।
कफ्र्यू आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण गर्न अनुरोध गरिएको छ ।
धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












