कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै



काठमाडौं, पुस २२ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दैछ ।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहनेछ । महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक मतभेद बढ्दै गएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेपछि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५ औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ ।

कांग्रेसको विधानअनुसार कूल प्रतिनिधिको ४० प्रतिशतले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु पर्ने प्रावधान छ । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका थिए । तर, नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको हस्ताक्षर स्वतः खारेज भएको संस्थापन पक्षको दाबी छ । विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरिएको छ ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्