डोल्पा घटना छानबिन गर्न एसपीको नेतृत्वमा बन्यो समिति



काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा एक जना युवक बेपत्ता भएको र त्यसपछि इलाका प्रहरी कार्यालय खादाङमा तोडफोड गरिएको घटना छानबिन गर्न समिति बनेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी राम प्रसाद घर्ती मगरको नेतृत्वमा समिति गठन गरेर छानबिन थालिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले बताए । उनले भने, ‘घटनाको छानबिन तथा अनुसन्धान गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।’

पुस १८ मा साँझ त्रिपुरासुन्दरीको ल्हाँ गाउँका ३५ वर्षीय जुन रोकायालाई प्रहरीले पक्राउ गर्न खोजेको थियो । रोकायाले लागु औषध बोकेर हिँडिरहेको सुराक पाएर प्रहरीले चेकप्वाइन्ट राखेपछि उनी सम्पर्कविहीन भएका थिए । अहिलेसम्म उनी भेटिएका छैनन् । स्थानीयले रोकाया ठुली भेरीमा खसेर बेपत्ता भएको आरोप लगाएका छन् । त्यसपछि स्थानीयले इलाका प्रहरी कार्यालयमा तोडफोड गरे । इप्रकामा ७–८ जना प्रहरी कार्यरत थिए ।

पीडित परिवारले रोकायालाई बेपत्ता बनाएको भन्दै प्रहरी कर्मचारी विरुद्ध मानिस बेपत्ता बनाएको कसुरमा जाहेरी दिएका छन् । जाहेरी दर्ता गरेर अनुसन्धान थालिएको डीआईजी काफ्लेले बताए । जाहेरी दर्ता गरेर जिल्ला प्रहरी कार्यालय डोल्पाले इलाका प्रहरी कार्यालय खादाङका इन्चार्जसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । खादाङका असई सहित ३ जना र जिल्लाबाट जुन रोकायालाई पक्राउ गर्न खटिएका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिप्रका डोल्पाका एक जना अधिकृतले बताए । ती अधिकृतले भने, ‘जाहेरी दर्ता भएपछि प्रहरी कर्मचारी आफैँ अनुसन्धानलाई सघाउन उपस्थित भएका हुन् ।’

एसपी घर्ती मगर नेतृत्वको समितिले चौकी तोडफोडबारे पनि अनुसन्धान गर्नेछ । सो समितिले घटना कसरी हुन गयो भन्नेबारे खुलाएर आफ्नो प्रतिवेदन प्रदेश प्रहरी कार्यालयमा पेस गर्नेछ ।

डोल्पाको अवस्था अहिले सामान्य भएको छ । तोडफोड भएको चौकीमा ४५ जनाको फौज परिचालन गरिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको सो क्षेत्रमा लागु औषध कारोबारीहरू धेरै भएको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले त्यस दिन रोकायाले चरेस बोकेर सो चरेस ट्रक चालकलाई दिन लागेको सूचना पाएको थियो । त्यसपछि प्रहरी परिचालन गरिएको बताइएको छ । चौकीमा झडप हुँदा एक जना प्रहरी घाइते भएका थिए । उनको उपचार हुँदै छ ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्