आजको मौसम : तराईमा बाक्लो हुस्सु र कुहिरो
काठमाडौँ, पुस २३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा देशभरको मौसममा फेरबदल रहेको छ ।
विशेषगरी तराईका धेरै स्थानहरूमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
आज दिउँसो तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो कायमै रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा बादल लागे पनि अन्य भू–भागमा भने घाम लाग्ने छ ।
त्यसैगरी रातिको समयमा हुस्सुको प्रभाव रहने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली भागमा आंशिक बदली हुने छ भने अन्य स्थानको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार












