काठमाडौँको शङ्खरापुरमा बस दुर्घटना चारजनाको मृत्यु, २७ घाइते



काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना हुँदा चारजनाको निधन भएको छ । २७ जना घाइते भएका छन् ।

आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको हो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक  प्रवीण धितालका अनुसार घटनामा दुई महिला र एक पुरुषको निधन भएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । 

अर्को गाडीलाई उछिन्ने क्रममा गाडी दुर्घटनामा परी रुखमा अड्केको जानकारी उहाँले दिनुभयो । गाडीलाई क्रेनले निकाल्ने प्रयास भइरहेको छ । 

यसैगरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ । घटनास्थलबाट सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । बस घटनास्थलमै रहेको र अन्य विवरण आउन बाँकी छ ।”

नेचर हब भन्ने संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्कंदा बस दुर्घटनामा परेको थियो ।

अर्थोपेटिक अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल अस्पताल, स्तुपा अस्पताल, टिचिङ अस्पताल,मुलपानि नगर अस्पताल, सुस्मा कोइराला अस्पताल, पिपुल्स लाईफ केयर अस्पताल गरी जम्मा ८ वटा अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।

उक्त बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्