निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान



काठमाडौं, पुस २४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो । निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट निर्वाचन प्रहरीको दरखास्त फारम लिन र बुझाउने सकिने छ ।

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पुरा भएका र ५४ वर्ष ननाघेका नागरिकहरू निर्वाचन प्रहरीमा भर्ना हुन पाउने छन् ।

माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरेर माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिनेछ । छनौट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्ने छ ।

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुने छ । चालिस दिनमा उनीहरुले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन् । त्यसबाहेक उनीहरूलाई रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै, निर्वाचन प्रहरीले ४ दिनको लागि दैनिक ३ सयको दरले खाजा खर्च पाउने सूचनामा उल्लेख छ । पोसाक बापत छुट्टै रकम प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउने छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्