नमुना मतपत्र १० लाख थान छापियो
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाइ कार्य पुरा भएको छ ।
नेपाली सेनाको सुरक्षा घेरामा सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नमुना मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।
उक्त निर्वाचनको समानुपातिक र प्रत्यक्ष दुवैतर्फ गरी करिब १० लाख थान नमुना मतपत्र छपाइ भएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।
आयोगको टोलीले उक्त छपाइ भएको नमुना मतपत्रबारे आजै निरीक्षण गरी जानकारी लिएको थियो ।
उक्त निर्वाचनको समानुपातिकतर्फ सेतो कागजमा कालो रङ्ग र पहिलो हुने विजयी हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ रातो रङ्ग प्रयोग गरिएको छ । शुक्रवारदेखि समानुपातिकको मतपत्र छपाइ सुरु हुने सूचना अधिकारी घिमिरेले बताउनुभयो ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












