काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गरिँदै



काठमाडौं, माघ ३ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्ने जनाएको हो ।

प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, बिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ।

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ । बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म बिजुली कटौती हुनेछ ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि बिजुली कटौती गरिँदैछ ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्