संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड



काठमाडौँ । पूर्व राष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको संरक्षणमा जोड दिनुभएको छ । 

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको २०औँ स्मृति दिवसका अवसरमा आज नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरमा आयोजित ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले २०७२ सालको संविधान समावेशी, समानुपातिक, धर्मनिरपेक्षतासहितका विशेषताले उत्कृष्ट संविधान बनेको बताउनुभयो । 

उहाँले लोकतन्त्र पुनःस्थापनाका लागि गोविन्द वियोगीले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्नुभयो । साथै उहाँले सम्पादक समाज नेपाली समाजलाई उन्नतिको मार्गमा रूपान्तरण गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो । 

फरक प्रसङ्गमा मुलुकको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रहेको नेपाली कांग्रेस आजको अवस्थामा आइपुग्नु दुःखद भएको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’ रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा जगत नेपाललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार एक र सम्मानपत्र रहेको छ । 

यस्तै, ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल तथा ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गरिएको छ । हमाललाई वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा पत्रकारितामार्फत गरेको योगदान र मानन्धरलाई नेपाल भाषामार्फत पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । यो पुरस्कारको राशि जनही रु १५ हजार एक र सम्मानपत्र रहेको छ । 

कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवबाट वरिष्ठ पत्रकार शरदचन्द्र बस्ती र सुदर्शन आचार्यलाई ‘सम्पादक समाज नेपाल सम्मान’ प्रदान गरियो ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्