यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, माघ ४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लागेको छ ।
मधेस प्रदेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्नेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












