सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी



काठमाडौं, माघ ७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मनोनयन दर्ता गराएका छन् ।

१६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका प्रवक्ता भाटले जानकारी दिए ।

त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । अछाम क्षेत्र नं. १ मा ८ र अछाम २ मा ९ जनाले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन् । सुदूरपश्चिममा कूल १७ लाख १६ हजार ६६० मतदाता छन् ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्