उपत्यकाबाट हराएका ५० वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण



काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले बुधवार दुईपांग्रे सवारी हस्तान्तरण गरेका हुन् ।

रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो सवारी भेट्टाइदिएकोमा सवारी धनीले अनुसन्धानमा संलग्न प्रहरीलाई मिठाइ खुवाए ।

पछिल्लो २५ दिनको अवधिमा ५० वटा दुईपांग्रे सवारी फेला पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले बताए । उनले भने, ‘मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरेर मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका युनिटमा पठाएका छौँ ।’

पुस महिनामा मात्र ट्राफिक प्रहरीले ९२ वटा मोटरसाइकल र स्कुटर फेला पारेको छ । पुसमा महिनामा ३०५ वटा दुइपांग्रे सवारी हराएको निवेदन आएको एसपी सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्