निर्वाचनका सन्दर्भमा एकपक्षीय प्रचारप्रसार नगर्न प्रेस काउन्सिलको आग्रह



काठमाडौँ।  प्रेस काउन्सिल नेपालले निर्वाचनका सन्दर्भमा कुनै दल विशेष वा उम्मेदवारलाई मत आह्वान गर्ने, एकपक्षीय प्रचारप्रसारलाई प्रश्रय दिँदै प्रचारप्रसार नगर्न आग्रह गरेको छ । 

प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत एवम् सहप्रवक्ता रामशरण बोहराले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकारिताका मूल्य, मान्यता विपरीत गैरपेसागत आचरण गर्ने, तथ्यगत परीक्षण एवम् आधार/प्रमाण बेगर सामग्री सम्प्रेषण गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा उत्तेजना फैलाउने कार्य गैरकानुनी भएको बताउनुभएको छ । 

निर्वाचनको सन्दर्भमा परिस्थितिलाई उत्तेजक बनाउन नियोजितरुपमा गलत, मिथ्या एवम् तथ्यलाई तोडमरोड गरी सामग्री प्रकाशन गर्ने, पेसागत आचरण विपरीत एवम् गैरकानुनी भएको उहाँको भनाइ छ । 

उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म १६३ वटा उजुरी दर्ता भएको थियो । जसमध्ये पत्रकार आचारसंहिताको प्रक्रिया बमोजिम पत्राचार भएपश्चात् ७७ वटा खण्डन सम्प्रेषण भएको, ५२ वटा पेस भएको जवाफ उजुरीकर्तालाई  जानकारी गराइएको, १४ वटा क्षमायाचना भएका, पाँच वटाले सामग्री स्थगन गरेका, दश वटालाई स्पष्टीकरण सोधिएको र पाँच वटालाई निर्देशन एवम् सचेत गराइएको छ । 

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्