देशभर मौसम बदली : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, माघ ९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
यसका कारण तराईका केही स्थानमा तुवाँलो लागेको छ भने पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहने र केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान छ ।
त्यसैगरी आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली रहनेछ । यी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा, असिना र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












