कांग्रेसले आज सभापति गगनलाई भावी प्रधानमन्त्री घोषणा गर्दै
काठमाडौँ, माघ ९ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
पुसको अन्तिम साता काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पहिलो पटक सानेपामा बैठक बोलाइएको हो ।
सर्वोच्च अदालतमा पार्टी आधिकारिताको मुद्दा विचाराधीन रहे पनि निवर्तमान सभापति शेरबहादुर देउवाको पक्षमा अन्तरिम आदेश नदिएपछि थापा नेतृत्वको नयाँ कार्यसमितिलाई सानेपामा रहेको केन्द्रीय कार्यालयमै बैठक गर्न बाटो खुलेको हो ।
फागुन २१ गते हुने आम निर्वाचनको टिकट केन्द्रीय कार्यालय बाहिरबाट नै थापा नेतृत्वको कार्यसमितिले वितरण गरेको थियो ।
आज दिउँसो १ बजे नयाँ नेतृत्वसहितको कार्यसमितिले सानेपा पुगेर पदभार सम्हाल्नेछ र त्यसपछि बस्ने बैठकले सभापति थापालाई निर्वाचनपछिको प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गर्ने बताइएको छ ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












