चोरीका सुनका गहना र नगदसहित दुई जना पक्राउ
काठमाडौँ, माघ ९ । काठमाडौँको सेतोपुल क्षेत्रबाट चोरीका सुनका गहना र नगदसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले दुई दिनअघि नै रातिको समय शङ्कास्पद अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
बा ६३ प ७०५५ नम्बरको स्कुटरमा सवार सङ्खुवासभाका ३७ वर्षीय केशव देवान र पाँचथरका २६ वर्षीय कमल लिम्बुलाई प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट चोरीका गहना र नगद फेला परेको थियो ।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने दुई थान तिलहरी र दुई थान चन्द्रमा बरामद गरेको छ ।
यसका साथै ४९ हजार ३ सय रुपैयाँ नगद, ११ थान सिरिन्ज, २ थान एम्पुल लागुऔषध र चोरी गर्दा प्रयोग गरिने एक प्याकेट खुर्सानीको धुलो समेत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












