स्कटल्यान्डसँगको लज्जास्पद हारसँगै विश्वकप छनोटबाट बाहिरियो नेपाल



काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएको हो । समूह चरणमा एक खेलमा जित र तीन खेलमा हार भोगेसँगै नेपाल ग्लोबल छनोटबाटै बाहिरिएको हो ।

आज स्कटल्यान्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १३।५ ओभरमा ६८ रनमा अलआउट भयो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक १४ रन बनाउँदा रोमा थापा १४ रनमा अविजित रहिन् । रुविना क्षेत्रीले १० रन थप्दा अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुनसमेत सकेनन् ।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्ड निर्धारित २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भएको थियो । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाइन् । सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रन बनाइन् ।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले १-१ विकेट लिए ।

नेपालले यसअघि थाइल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुँदा जिम्बाबेलाई हराएको थियो । नेपालमा रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्