नेपाल टेलिकमको २२ औं वार्षिकोत्सव सम्पन्न



काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको २२औं वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले अध्यक्षता गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथि गृह मन्त्री ओम प्रकाश अर्यालले विशेषतः डिजिटल डिभाइड न्यूनीकरण गर्ने र ग्रामीण क्षेत्रहरूमा सञ्चार पहुँच विस्तार गर्ने काममा कम्पनीले गरेको योगदान प्रशंसनीय भएको बताउँदै सुशासन मार्फत नागरिक र सरकारको सम्बन्धलाई प्रगाढ बनाउने तर्फ कम्पनीबाट उपलब्ध सेवा एवम् कम्पनीका पूर्वाधारहरुको महत्वपूर्ण योगदान रहने बताउनु भयो ।

सरकारले लिएका नीति एवम् कार्यक्रमलाई आत्मसात गरी सरकारको नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँग हातेमालो गर्ने र कम्पनीको सुदृढीकरण र विकासमा सरकारको अभिभावकत्व सदैव रहने बताउनु भयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात गरी सर्वसुलभ रूपमा आम सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमले महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै नेपाल टेलिकमले देशको प्रमुख सेवा प्रदायकको रुपमा कनेक्टिभिटी उपलब्ध गराई टेलिहेल्थ, टेलिमेडिसिन र टेलिएजुकेसन जस्ता सेवाको विकासलाई ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले विशेष गरी दुर्गम क्षेत्रहरूमा डिजिटल सेवाहरू पुग्ने गरी आवश्यक ढाँचा तयार पार्न जरुरी भएको र यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने र मुलुकलाई डिजिटाइजेसन गर्ने अभियानलाई गति दिने बताउनु भयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले त्यसै अनुसार नेटवर्क निर्माण र विस्तार गरी बजार अझै विस्तार गर्न सक्ने सम्भावना भएको र त्यसै अनुसार आम्दानी समेत वृद्धि गर्न सकिने भएकोले त्यसतर्फ लाग्न सुझाव दिनुभयो । उहाँले नेपाल टेलिकमले प्राधिकरणमार्फत गरिरहेका विभिन्न परियोजनाहरु समयमै सम्पन्न गर्नेतर्फ लाग्नु पर्ने बताउनु भयो ।

नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको समग्र अवस्थाका बारेमा छोटकारीमा जानकारी गराउँदै नेपाल टेलिकमले फोरजीरएलटीई सेवा विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिंदै आएको र परिणामस्वरुप सातै प्रदेशका ७७ जिल्लाका कुल ७ सय ४९ स्थानीय तहमा सो सेवाको पहुँच विस्तार भएको बताउनु भयो ।

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्