बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई १-१ लाख दिने सुदूरपश्चिम सरकारको निर्णय, घाइतेहरूको नि:शुल्क उपचार



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बैतडी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रवार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।

दुर्घटनामा घाइते भएकाहरूलाई औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।

साथै, आवश्यक परेमा थप उपचारका लागि काठमाडौँसम्म लैजान हेलिकप्टर व्यवस्थापनको तयारी अवस्थामा रहेको प्रदेश सरकारले जनाएको छ।

बिहीबार बैतडीको पुर्चौडी नगरपालिका-७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सु।प्र। ०२(००१ ख १११९ नम्बरको बस बडगाउँमा दुर्घटनामा भएको थियो। उक्त दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।

घाइतेमध्ये केहीको डडेल्धुरा जिल्ला अस्पताल र केहीको धनगढीमा उपचार भइरहेको छ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्