काठमाडौं उपत्यका निर्वाचन सेलको जिम्मेवारी एसएसपी रमेश बस्नेतलाई



काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरको निर्वाचन सेलको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतलाई दिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत बस्नेतलाई सोही कार्यालयद्वारा गठित निर्वाचन सेलको प्रमुखको जिम्मेवारी दिइएको हो ।

तीन जिल्लाभित्रका १५ निर्वाचन क्षेत्रका सम्पूर्ण प्रहरी गतिविधिको नियन्त्रण, जनशक्ति परिचालन र रेखदेख बस्नेत नेतृत्वमा हुने भएको हो। त्यसबाहेक उपत्यकाभित्रका निर्वाचन केन्द्रित अन्य गतिविधिमा सुरक्षाको अनुगमन पनि उक्त सेलले गर्ने भएको छ ।

यसअघि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको कमान्डसमेत बहन गरिसकेका छन् ।

काठमाडौं उपत्यकाको तीन जिल्लाको समग्र कमान्ड भने अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले बहन गर्दै आएका छन् ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्