जलेको सिंहदरबार अगाडि चुनावका लागि भारतले दिएको गाडीको लस्कर



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएका सवारीसाधनहरुलाई सिंहदरबारस्थित जलेको भवन अगाडि पार्किङ गरिएको छ।

निर्वाचन व्यवस्थापनका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग वस्तुगत सहायताअन्तर्गत सवारीसाधन माग गरेको थियो। सोही अनुरूप भारत सरकारले निर्वाचन प्रयोजनका लागि गाडी उपलब्ध गराएको हो ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले साना तथा ठूला गरी करिब ६५० वटा सवारीसाधन उपलब्ध गराउने बताइएको छ। ती गाडीहरू निर्वाचन सामग्री ढुवानी, कर्मचारी परिचालन तथा अन्य व्यवस्थापन कार्यमा प्रयोग गरिने जनाइएको छ।

भारतले दुई पटक गरेर २८१ वटा सवारी साधन नेपाल सरकारलाई प्रदान गरिसकेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई पहिलो पटक फागुन ६ गते ६१ वटा गाडी उपहार दिएको थियो । माघ ६ गते सिंहदरबारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिक भ्यान हस्तान्तरण गरेको थियो ।

दोस्रो पटक भने माघ १५ गते २६० वटा सवारी साधन हस्तान्तरण भइसकेको छ । यी गाडीहरू सिंहदरबारमा राखिएको छ । अन्य पनि आउनेक्रम जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्