विदेश पठाउँछु भनेर ६८ लाख ठगेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले ह्यापी एजुकेसन कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१० मा रहेको कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय बद्री सिलवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
चितवनको राप्ती घर भएका सिलवालले अध्ययन भिसामा विदेश पठाउँछु भनेर ६८ लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले ‘पोर्चुगल पठाउने प्रक्रिया गर्दैछु’ भनेर २१ लाख ७० हजार रकम जम्मा गर्न लगाएर कन्सल्टेन्सी बन्द गरेर हिँडेका थिए ।
उनलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले माघ २० मा पक्राउ गरेर अनुसन्धान गरिरहेको एसपी भट्टराईले बताए । कन्सल्टेन्सी बन्द गरेपछि परिचय बदलेर केदार सिलवालको नामबाट थप पीडितहरूलाई विदेश पठाउँछु भनेर रकम असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
प्रकाशित मिति: २६ माघ २०८२, सोमबार
















