गगन थापाले भने- काँग्रेस सामान्य घोषणा पत्र होइन, प्रतिज्ञा पत्र लिएर जनता अगाडि आउँछ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने बताएका छन् ।
सिरहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफ्नो प्रतिज्ञा पत्रका बारेमा स्पष्ट पारेका हुन् ।
उनले प्रस्तावित नयाँ सरकारी मोडेल अनुसार, चुनाव चैतमा सम्पन्न भएपछिका सरकारले वैशाख १ गतेदेखि जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय सुरु गर्ने बताए ।
उनले भने- ‘हामी घोषणा पत्र तयार गरिरहेका छौँ, तर यो काँग्रेसको सामान्य घोषणा पत्र हुँदैन, यो हाम्रो प्रतिज्ञा पत्र हुनेछ । वैशाख १ देखि देशवासीको सामु हरेक महिनाको कामको विवरण प्रस्तुत गरिनेछ । यसले पुरानो ५–५ वर्षमा एकपटक भोट माग्ने र बेपत्ता हुने प्रवृत्तिलाई अन्त्य गर्नेछ ।’
उनले अबको राजनीति ५ वर्षे योजनामा मात्र सीमित नभई दैनिक कार्यसम्पादन आधारित हुनुपर्ने बताए ।
थापाले थप भने- ‘हरेक ३० दिनमा प्रधानमन्त्री देशवासीको सामु उभिएर गएको महिनामा के काम भयो र के हुन सकेन, त्यसको स्पष्ट हिसाब दिनेछ ।’
साथै काठमाडौंको सुरक्षित निर्वाचन क्षेत्र छाडेर सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिनुको कारण बताउँदै थापाले मधेसका मुद्दालाई काठमाडौंको ‘स्थायी सत्ता’ सँग जोड्न आफू सर्लाही गएको स्पष्ट पारे ।
प्रकाशित मिति: २८ माघ २०८२, बुधबार
















