किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य
काठमाडौँ । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन् । यो सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सहजै सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउनु रहेको छ । यो सहकार्य नेपालको कृषि क्षेत्रलाई डिजिटल बनाउने यात्रा तथा कृषि क्षेत्रमा रहेको डिजिटल असमानता घटाउने दिशामा ऐतिहासिक कदम हो । हालसम्म देशका ३० हजारभन्दा बढी किसानहरू सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन् ।
यस प्लेटफर्ममार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर, तथा कृषि चीना (स्याटेलाइट अनुगमन) जस्ता डिजिटल उपकरण र सेवाहरू उपलब्ध हुन्छन्, जसले किसानहरूलाई आफ्नै मोबाइल फोनमार्फत वास्तविक समयमै कृषि परामर्श, रोगकीरा तथा बाली समस्या पहिँचान, र बाली अनुगमनसम्बन्धी जानकारी प्राप्त गरी स्वमुल्यांकन गर्न सक्षम बनाउँछ ।
यो सहकार्यले गर्दा देशका प्रत्येक जिल्लाका किसानहरूले आफ्नो मोबाइल फोनमार्फत उन्नत, सुलभ र स्थानीय आवश्यकता अनुकूल कृषि परामर्श प्राप्त गर्न सक्ने हुने छन् । उच्च पहाडदेखि तराईका फाँटसम्म अब किसानका हात हातमा विशेषज्ञको सल्लाह सुझाव अनि आधुनिक
प्रविधिको पहुँच सुनिश्चित भएको छ । एनसेलको बृहत् नेटवर्क पहुँच र लाखौँ सक्रिय ग्राहकहरू
भएकाले अब सुपर कृषकका प्रिमियम सेवाहरू आम किसानहरूलाई एक भ्यालु एडेड दूरसञ्चार सेवाका रूपमा उपलब्ध भएको छ । योसँगै नेपालमै पहिलो पटक किसानहरूले भ्वाइस, डेटा वा एसएमएस सेवा लिए झैँ सहज रूपमा आफ्नो मोबाइल ब्यालेन्सबाटै कृषि सेवाको लाभ उठाउन सक्ने भएका छन् ।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार
















