रूपन्देही- ३ मा जसपा नेपालका उम्मेदवार नै एमाले प्रवेश गरेपछि…..
रुपन्देही। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर-३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार नै एमाले प्रवेश गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालका उम्मेदवार श्रीनिवास यादवले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै नेकपा एमालेमा समाहित भएको घोषणा गरेका हुन् ।
‘देश, जनता र राष्ट्रप्रति बफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेकपा एमालेमा समाहित भएको घोषणा गर्दछु,’ सोमबार एक प्रेस विज्ञप्तिमार्फत उनले भनेका छन् ।
यादवलाई नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेताहरु भुमिस्वर ढकाल, गोमादेबी आचार्य, भरत पोख्रेल, राजेन्द्र पन्थी ,बासुदेब घिमिरे, प्रमोद यादब, हरिप्रसाद अधिकारि, उमा काफ्ले, अनुप बराललगायतले पार्टीमा स्वागत गरेका थिए।
यादव यसअघि २०७४ सालको निर्वाचनमा क्षेत्र नं. ४ बाटै नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा पराजित भएका थिए । यसपटक भने नेपाली कांग्रेसले टिकट नदिएपछि उनी जसपा नेपाल प्रवेश गरेर उम्मेदवार बनेका थिए । तर निर्वाचन नजिकिँदै जाँदा उनी उम्मेदवारी नै रद्द गरेर एमाले प्रवेश गरेका हुन् ।
यादवले आफूलाई माया, स्नेह र विश्वास गर्ने सम्पूर्ण मतदातालाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न आह्वान गरेका छन्।
साथै उनले एमाले रुपन्देही–३ का उम्मेदवार वासुदेव घिमिरेलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिलसमेत गरेका छन् ।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार
















