कारागारबाट फरार सात कैदी पक्राउ : डाँकादेखि मानव बेचबिखनसम्मका अभियुक्त



काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न कारागारबाट फरार रहेका सात जना कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिएको छ। भदौ २४ गते कारागारबाट भाग्न सफल भएका उनीहरूलाई प्रहरीले खोजी गर्ने क्रममा फागुन ३ गते पक्राउ गरी सम्बन्धित कारागारमा बुझाएको हो।

पक्राउ पर्नेहरूमा गम्भीर प्रकृतिका अपराधमा संलग्न व्यक्तिहरू रहेका छन्। पक्राउ परेकामध्ये डाँका चोरी मुद्दाका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, चोरी मुद्दाका २० वर्षीय प्रितम गुरुङ र मानव बेचबिखन तथा ओसारपसार मुद्दाकी २३ वर्षीया बविता तामाङ रहेका छन्।

त्यस्तै, नकबजनी चोरी मुद्दाका २२ वर्षीय विक्रम नेपाली, लागु औषध मुद्दाका भुवन तामाङ र ज्यान मार्ने उद्योगका अभियुक्त अनिस मगर पनि प्रहरीको फन्दामा परेका छन्। भारतीय नागरिक रोसन साहलाई पनि प्रहरीले लागु औषध मुद्दामा फरार रहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार फरार कैदीहरूको खोजीका लागि विशेष टोली परिचालन गरिएको थियो। काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गरिएको हो।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्