दमक टावर विकासको झण्डा हो, नबुझ्नेहरुले विरोध गरेका हुन् : ओली



काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताएका छन् ।

दमकमा बनेको टावर भ्यूटावर नभएर एउटा बिजनेस कम्प्लेक्स भएको उनको भनाई थियो ।

आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी घरदैलोको क्रममा सोमबार ओलीले भने–‘भविष्यमा दमक चिनिने भनेको यही टावरको कारण हो । यो दमकको पहिचान हो, दमकको विकासको एउटा झन्डा हो ।’

उक्त बिजनेस कम्प्लेक्सलाई नयाँ खालको आईटी हबको रूपमा विकास गर्ने सोच अनुसार अगाडि बढाएको उनले बताए । तर नबुझ्ने मान्छेहरूले यो किन चाहियो भनेर विरोध गर्ने गरेको उनको भनाइ छ ।

मतदाताहरुसँग उनले भने–‘भ्यूटावर भन्छन् । यो वास्तवमा भ्यूटावर नै होइन । यो एउटा बिजनेस कम्प्लेक्स हो । नयाँ खालको आईटी हबको रूपमा यसलाई विकास गर्ने सोचअनुसार अगाडि बढाएका हौं । त्यो कुरा चाहिँ नबुझ्ने मान्छेहरूले किन चाहियो भन्छन् । यो एकजना परिवार वा म गएर बसोबास गर्न बनाएको त होइन नि । यो ठाउँको विकास गर्नलाई बनाएको हो ।’

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्