शास्त्रका कुरा गर्दा उखान टुक्का भन्दै उडाइयो : ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार पटक प्रधानमन्त्री बन्नुपरेको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा चुनावी अभियानका क्रममा घरदैलोमा रहेका ओलीले मतदातासँगको संवादमा आफ्नो राम्रो काम थालेपछि सरकार ढालिएको दावी गरे ।
मतदाताहरुसँग उनले भने–‘विकास गर्नको लागि ठ्याक्क उभिएर हुँदैन। पाइला अगाडि सार्नुपर्छ। मैले रेल फेरि सुरु किन गर्न खोजेँ ? किन पानीजहाजको बाटोबाट सम्बन्ध जोड्ने भनेँ ? त्यसका निम्ति काम हुँदै थियो तर त्यो मैले सुरु गर्छु, फेरि सरकार भत्काउँछन्। फेरि सुरु गर्छु, फेरि भत्काउँछन्। एक कार्यकाल पूरा गर्न चार पल्ट प्रधानमन्त्री हुनुपर्यो।’
विरोधीहरूले देशभक्ति र राम्रो काम गरेको नसहेको तर्क गर्दै उनले भने–‘अलिकति काम गरेपछि सहनै सक्दैनन्, भत्काइहाल्छन्। देशभक्तिको काम गर्नै दिँदैनन्। देशको हितमा, देश विकास गर्ने काम गर्नै दिँदैनन्। यहाँ औद्योगिक क्षेत्र बनाउन नदिने भनेर देशभित्र देश बाहिरका अनेक शक्तिहरू लागेका छन्।’
उनले आफूले विभिन्न शास्त्रका, इतिहासका कुरा गर्दा उखान टुक्का भनेको भन्दै उडाइने गरेको बताए। उनले भने–‘हामीले काम गर्न छोड्नु हुँदैन। सभागृह आवश्यक हुँदैन ? संसारभरि सबै शहरमा, सबै नगरमा सभागृह हुन्छन्। सामुदायिक भवनहरू हुन्छन्, रङ्गशालाहरू हुन्छन्। रङ्गशाला पनि चाहिँदैन भन्ने, भ्यु टावर भन्छन्। यो वास्तवमा भ्यु टावर होइन, यो एउटा बिजनेस कम्प्लेक्स हो। यसमा आइटी आदि इत्यादिको नयाँ खालको इन्भेस्टमेन्ट हो। आइटी इन्डस्ट्री, आइटी हबको रूपमा यसलाई विकास गर्ने सोचका साथ अगाडि बढाएको हो।’
एमाले अध्यक्ष ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताए । ओलीले भने–‘भविष्यमा दमक चिनिने भनेको यही टावरको कारण हो । यो दमकको पहिचान हो, दमकको विकासको एउटा झन्डा हो ।’
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार
















