नेकपाद्धारा सिन्धुली जिल्ला इन्चार्ज माझी र संयोजक बम्जनलाई कारबाही
सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सिन्धुलीका इन्चार्ज बुद्धिमान माझी र संयोजक पानीराज बम्जनलाई कारबाही गरेको छ ।
पार्टी हितविपरीत गतिविधि गरेको भन्दै नेकपाको प्रदेश कमिटीले उनीहरूलाई कारबाहीस्वरुप जिम्मेवारीबाट हटाएको हो ।
उनीहरूमाथि प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली–२ मा आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) विरुद्ध बागी उम्मेदवारलाई सघाएको आरोप छ ।
नेकपा बागमती प्रदेश कमिटीले एक विज्ञप्ति जारी गर्दै ‘आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी खडा गरी त्यसका पक्षमा खुलेआम मत माग्ने गतिविधि गरेकाले’ कारबाही गरिएको उल्लेख छ । औपचारिक तथा अनौपचारिक रूपमा पार्टीले दिएको निर्देशनलाई बेवास्ता गर्दै अनुशासन उल्लंघन गरेकाले उनीहरूलाई सबै जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।
नेकपाबाट टिकट नपाएपछि सिन्धुली-२ मा महेश्वर दाहालले बागी उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला संयोजक बम्जन र इन्चार्ज माझी बागी उम्मेदवार दाहालका पक्षमा मत माग्दै हिँडेको पुष्टि भएपछि प्रदेश कमिटीले कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
यसअघि यही प्रकरणमा नेकपाले बागी उम्मेदवार दाहालसहित नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको थियो ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार
















