रास्वपालाई अर्को झट्का, गत निर्वाचनकी प्रत्यक्ष उम्मेदवार उर्मिलाले पनि छाडिन् पार्टी
जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संस्थापक सदस्य खेम कुमारी भुर्तेल (उर्मिला) ले पार्टी परित्यागको घोषणा गरेकी छन् ।
गत निर्वाचनमा मधेशबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फकी एक्ली उम्मेदवार समेत रहेकी भुर्तेलले मंगलबार सामाजिक सञ्जालमा लेख्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी आफूले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
उनले युवाहरुलाई प्राथमिकता दिनेदेखि जान्नेलाई छान्ने नीति लिएको रास्वपाका गतिविधिहरुमाथि असन्तुष्टी जनाउँदै राजीनामा दिएको बताएकी छन् ।
‘म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेस प्रदेशको एक्लो महिला उम्मेदवार । आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्याउँदै आएकी छु। तर पार्टी विधि विधान विपरीत चाप्लुसीवाद र आर्थिक वादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखेको छ। जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु,’ राजीनामा पत्रमा उनले लेखेकी छिन् ।
साथै आफूहरु पार्टीमा निरन्तर खटिएको, क्षमता भएका नेताहरुको मूल्यांकन नगरिएको साथै आर्थिक अनियमिततामा पार्टी लिप्त भएको आरोप समेत उनले लगाएकी छन् ।
भुर्तेल गत निर्वाचनमा महोत्तरी क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवार बनेकी थिइन् । गत निर्वाचनमा रास्वपाले देशभर ११ जना महिला उम्मेदवार उठाएकोमा मधेशका ३२ वटा क्षेत्रमध्ये भुर्तेल एक्ली उम्मेदवार थिइन् ।
आजै मात्र मधेश प्रदेशकी रास्वपा संस्थापक सभापति ममता शर्माले आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी छन् ।
शर्मा पार्टीबाट राजीनामा दिए लगत्तै बुधबार जनकपुरमा हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममाकांग्रेस प्रवेश गर्ने भएकी छन्।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार
















