देशमा अहिले भत्काउने र बनाउने दुई सोचबीचको द्वन्द्व जारी छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशमा भत्काउने र बनाउने दुई सोचबीचको द्वन्द्व जारी रहेको बताएका
यतिबेलो देश दोबाटोमा उभिएको टिप्पणी गर्दै उनले भने–‘आज देश यस्तो दोबाटोमा उभिएको छ । जहाँ एकातिर आवेग र आक्रोश छ । अर्कोतिर विवेक र जिम्मेवारी छ । भत्काउने र बनाउने दुई सोचबीचको जारी द्वन्द्वमा देशलाई फेरि प्रयोगशाला बनाउन खोजिँदैछ ।’
निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यतिबेला देश प्रश्नैप्रश्नको घेरामा भएको पनि बताए । उनले भने–‘निर्वाचनको केही साताअघि हाम्रा प्रतिवद्धता घोषणा गरिरहँदा यस्तो लाग्छ सिंगो समाज प्रश्नैप्रश्नहरूको घेरामा छ ।’
आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताउँदै उनले भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको धारणा राखे ।
उनले भने–‘यस घडीमा हाम्रो प्राथमिकता एउटै हो, देश पहिला । देशको भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्था यी सबैभन्दा माथि केही छैन ।’
आफूहरू उत्तेजनाको पक्षमा नभई निर्माणको पक्षमा भएको बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने–‘हामी निर्माणको पक्षमा छौं । उत्तेजनाको पक्षमा होइन । हामी स्वाधिनता र सार्वभौमसत्ताका रक्षक हौं । हामी जस्तै आक्रमणका बेलामा पनि मौन बस्दैनौं ।’
भदौ २३–२४ राज्यविरुद्धको षड्यन्त्र हो
अध्यक्ष ओलीले कांग्रेससँग आफूहरू मिलेर सरकार बनाएकै कारणले भदौ २३ र २४ गतेको दुर्घटना नभएको जिकिर गरेका छन्। प्रमुख पार्टीहरू मिलेर सरकार बनाएकोले विकल्पहीन अवस्था सिर्जना भएको भन्ने भाष्य गलत भएको बताए।
उनले भने–‘हामीले बुझ्नुपर्छ– ठूला पार्टीहरू मिलेकै कारण दुर्घटना भएको होइन, उनीहरूबिचको एकता फुटाउन–भत्काउनका लागि दुर्घटना गराइएको हो। संवैधानिक प्रक्रियाबाट सरकार ढाल्ने र अस्थिरताको चक्रनिरन्तर सञ्चालन गरिरहने सम्भावना नभएपछि नयाँ ढङ्गको षड्यन्त्र सुरु भएको हो।’
मौकाको पर्खाइमा रहेको अस्थिरताको उत्प्रेरकलाई सर्वोच्च अदालतको आदेशअनुसार सरकारले सामाजिक सञ्जाल नियमनका लागि दर्ता हुन नआउने प्लेटफर्महरू बन्द गर्ने निर्णय गर्नासाथ बहाना मिलेको उल्लेख छ।
उनले भदौ २३–२४ को भयानक घटनालाई राज्यविरुद्धको एक गम्भीर षड्यन्त्रको रूपमा अर्थ्याएका छन्। उनले अहिले ‘नयाँ कि पुरानो’ को असान्दर्भिक भाष्य खडा गर्ने प्रयत्न भइरहेको बताए।
उनले भने–‘आम मतदातालाई जानकारी नै छ, आज नयाँ भनिएका कोही पनि नयाँ हैनन्। भ्रममा पर्न हुन्न, नयाँ भनिने समेत कोही पनि परीक्षण हुन बाँकी छैनन् । चर्चामा रहेका पात्रहरूले स्थानीय होस् कि सङ्घीय सरकार, त्यसमा सहभागी भई आफ्नो क्षमता र हैसियत देखाइसकेका छन् ।’
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार
















