बालेन भन्छन्–कर्णालीको पीडा र दुःख बेच्ने नेता धेरै आए



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गरेको छ ।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभामाझ रास्वपाले चुनावी वाचापत्र सार्वजनिक गरेको हो ।

चुनावी सभाकै बीचमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’, उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले संयुक्त रूपमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक गरेका हुन् ।

रास्वपाले आफ्नो वाचापत्रमा मध्यम वर्गलाई महत्व दिएको दाबी गरेको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा वरिष्ठ नेता बालेनले कर्णालीको गहिराइलाई बुझ्ने पार्टी आफ्नो रहेको दाबी गरे । उनले कर्णालीको पीडा र दुःखलाई बेच्ने नेता धेरै आएको र बुझ्ने पार्टी रास्वपा बन्न चाहेको बताए ।

उनले भने–‘यो देशको सबैभन्दा ठूलो ताल रारा ताल राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा खुसी लागेको छ । देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौं । त्यो बुझ्ने पार्टी हो रास्वपा ।’

कर्णालीको यार्सागुम्बा विश्वभर पुग्नसक्ने बताउँदै बालेनले कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

उनले भने–‘आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभर पुग्नसक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झापा पुग्न सक्दैन । यहाँको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्‍याउने पार्टी बन्न चाहन्छ रास्वपा ।’

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्