सशस्त्र प्रहरीले जित्यो एन्फा महिला च्याम्पियनसिप–२०८२ को उपाधि



काठमाडौँ, ९ फागुन। उदयपुरमा सम्पन्न एन्फा महिला च्याम्पियनसिप–२०८२ को उपाधि सशस्त्र प्रहरी क्लब (एपीएफ) ले जितेको छ ।

शनिबार गाईघाटस्थित थरुहट रङ्गशालामा भएको रोमाञ्चक फाइनल खेलमा चिर प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि आफ्नो नाममा लेखाएको हो ।

खेलको पहिलो हाफ दुवै टोलीले सन्तुलित प्रदर्शन गरे पनि गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा भने एपीएफले उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमायो । खेलको ५५औँ मिनेटमा जर्सी नम्बर १२ की गीता रानाले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसको १३ मिनेटपछि, ६८औँ मिनेटमा जर्सी नम्बर ७ की रेणुका नगरकोटीले अर्को गोल थप्दै एपीएफको अग्रता दोब्बर बनाइन् ।

त्रिभुवन आर्मी क्लबले पनि सङ्घर्ष जारी राख्दै खेलको ७२औँ मिनेटमा जर्सी नम्बर ८ की जेनिफर रानामार्फत एक गोल फर्कायो । तर, त्यसपछि थप गोल गर्न नसक्दा आर्मी उपविजेतामै सीमित हुन बाध्य बन्यो ।

उपाधिसँगै सशस्त्र प्रहरी क्लबले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता त्रिभुवन आर्मी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा पहिलो पटक मोफसलमा आयोजना गरिएको यस राष्ट्रियस्तरको प्रतियोगिताले उल्लेखनीय दर्शक उपस्थिति समेत पाएको थियो । गाईघाटस्थित थरुहट रङ्गशालामा फाइनल हेर्न दर्शकहरूको उत्साहजनक भीड लागेको थियो ।

एन्फाको आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका १० शीर्ष महिला फुटबल टोलीहरूको सहभागिता रहेको थियो । एन्फाका महासचिव किरण राईका अनुसार नेपालमा यस स्तरको महिला फुटबल प्रतियोगिता मोफसलमा आयोजना हुनु ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । 

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्