वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालले महानगरका केही क्षेत्रमा बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मलाई कर्फ्यू लगाएका हुन् ।
आइतबार साँझ युवा समूहबीच भएको झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको छ ।
कर्फ्यू क्षेत्रमा आवत(जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।
तर अत्यावश्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थीहरु, परीक्षा केन्द्रमा खटिने कर्मचारीहरु, पर्यटक सवार गाडीहरु र मानव अधिकार तथा कूटनीतिक नियोगका गाडी भने सञ्चालन गर्न अनुमति दिइएको छ ।
पछिल्लो सुरक्षा अवस्थालाई ध्यान दिइँदै कर्फ्यू लगाइएको प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार
















