बालेनको बाचा- रास्वपा सरकार गठन भएको १००० दिनमा सुकुम्वासी समस्या समाधान गर्ने
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले भूमिहीन, सुकुम्वासीको समस्यालाई न्यायोचित ढङ्गले समाधान प्रतिबद्धता व्यक्त गरेका छन् ।
झापा क्षेत्र नम्बर ५बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बालेनले सोहि क्षेत्रका सुकुम्वासीलाई रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग गठन गर्ने र १००० दिनमा समस्या समाधान गर्ने बाचा गरेका हुन् ।
‘झापा ५ का भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्यसम्पन्न गरिनेछ,’ सोमबार बालेनले सार्वजनिक गरेको झापा केन्द्रित बाचापत्रमा लेखिएको छ।
झापा ५ मा मात्रै तीन हजार पाँच सय व्यक्ति भूमिहीन सुकुमवासी रहेको तथ्यांक छ । झापा जिल्लाभर भने ५० हजार सात सय बढी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।
साथै बालेनको बाचा पत्रमा ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एवं नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने पनि उल्लेख गरिएको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार
















