बस दुर्घटनाबारे गृह मन्त्रालयमा बैठक, छानबिन समिति गठन गर्ने निर्णय
काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ ।
धादिङ भएको बस दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको बैठकले घटनाबारे छानबिन गर्ने निर्णय गरेको हो ।
दुर्घटनापछि गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूबीच छलफल भएको थियो ।
उक्त छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो । तर, कसको नेतृत्वमा कति सदस्यीय समिति बनाउने भन्ने टुङ्गो लागि नसकेको गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् ।
हिजोराति पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
दुर्घटनामा कुल १९ जनाको मृत्यु भएको छ भने अन्य घाइते भएकाहरुको काठमाडौंमा उपचार भइरहेको छ।
सो बसमा चालक र दुई जना बसका कर्मचारीसहित ३७ जना थिए । तर बाटोमा थप यात्रु चढाइएको जनाइएको छ । प्रहरीले सो बसमा कुल ४५ जना यात्रारत रहेको जनाएको छ ।
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार
















