पूर्वसभामुखलाई रवि लामिछानेको प्रश्न- कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?



झापा । रास्वपाका सभापति रवि लामिछाने झापा पुगेर पूर्वसभामुख देवराज घिमिरेले ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाएका छन् ।

झापाको विर्तामोडमा मंगलबार बिहान आयोजित चुनावी सभा सम्बोधनक्रममा लामिछानेले संसदमा रास्वपालाई गलहत्याएर बाहिर निकालिएको घटना स्मरण गर्दै जनताको आवाज दबाउन खोजिएको आरोप लगाएका हुन् ।

आफ्नो सम्बोधनका क्रममा सभापति लामिछानेले पूर्वसभामुख घिमिरेमाथि प्रश्न उठाउँदै लामिछानेले भने- ‘मलाई थाहा छैन, पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ ? हामीले संसदमा भिजिट भिसामा नेपाली जनता ठगिएका छन्, छानबिन गरौँ भनेर आवाज उठाउँदा उहाँले माइक काटिदिनुभयो ।’

उनले एयरपोर्टमा बेचिँदै गरेका नेपाली जनताको आवाज उठाउदाँ रास्वपाका २१ जना सांसदलाई घाँटी न्याँकेर निकालेको जिकिर गरे ।

उनले थप भने- ‘मैले रास्वपालाई गर्नुभएको व्यवहारको कुराकानी गरेको होइन । हामीले नेपाली जनताको आवाज उठाएका थियौँ । नेपाली जनता प्रत्येक दिन एयरपोर्टमा बेचिँदै थिए ।’

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्