एमालेले भन्यो–अपराधलाई धोइपखाली गर्ने ‘वासिङ्ग मेसिन’ बन्यो महान्यायाधिवक्ताको कार्यालय
काठमाडौं । नेकपा एमालेले महान्यायाधिवक्ताको कार्यालय अपराधलाई धोइपखाली गर्ने वासिङ्ग मेसिन बनेको आरोप लगाएको छ ।
पार्टी मुख्यालयमा आज पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले महान्यायाधिवक्ताको कार्यालयले जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानूनी राज्यको बर्खिलाप भएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा शाहीले भने–‘महान्यायाधिवक्ताको कार्यालयले जुनसुकै प्रकारका आपराधिक क्रियाकलाप, जेनजी उपद्रवमा प्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आममाफी दिने निर्णयले कानूनी राज्यको बर्खिलाप र दण्डहीनता मौलाउने वातावरण निर्माण हुँदै गएको छ। जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न बनेको आयोगको प्रतिवेदन सार्वजनिक नगर्दै महान्यायाधिवक्ताको कार्यालयले अपराधलाई धोइपखाली गर्ने अर्थात् ‘वासिङ्ग मेसिन’को रूपमा काम गर्नु न्याय मर्नु सरह हो । महान्यायाधिवक्ताको कार्यालयलाई यो कार्य तत्काल रोक्न आग्रह गर्दछौँ।’
एमालेले प्रतिनिधिसभा विघटन प्रक्रिया संवैधानिक परीक्षणबाट प्रमाणीकरण हुनुपर्ने अडान पनि दोहोर्याएको छ।
सर्वोच्च अदालतको आलटालले प्रतिनिधिसभा विघटन संवैधानिक परीक्षणमा नलानु संवैधानिक सर्वोच्चतालाई स्थापित गर्ने मान्यताबाट गम्भीर ढङ्गले विचलित भएको शाहीले बताए।
प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार
















