देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षा



काठमाडौं । लामो समयपछि देशका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले त्यसको प्रभावस्वरुप पूर्वी जिल्लाहरुहरुमा हल्का वर्षा भएको हो ।

विभागका अनुसार अहिले ताप्लेजुङ, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, लमजुङ, कास्की, बागलुङ र जाजरकोटका केही ठाउँमा हल्का पानी परिरहेको छ । कतिपय स्थानमा मेघगर्जन समेत भएको विभागले जनाएको छ ।

मंगलबार बिहानैदेखि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बाँकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ।

विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एक दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको समेत जनाएको छ ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्