प्रधानसेनापतिद्वारा निर्वाचन सुरक्षाको अवस्थाबारे जानकारी



गाईघाट, १२ फागुन फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उदयपुर जिल्लाको समग्र शान्ति सुरक्षा अवस्थाबारे स्थलगत जानकारी लिन नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल उदयपुर आउनुभएको छ । 

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले पूर्वी पृतना इटहरी भ्रमणको क्रममा प्रधान सेनापति सिग्देल उदयपुर आइपुग्नुभएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत आउनुभएका प्रधानसेनापति सिग्देलले जिल्लाको चौदण्डीगढी नगरपालिकामा केन्द्रित भई सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ लिनुभएको हो । 

सो अवसरमा नेपाली सेनाले निर्वाचन लक्षित सुरक्षा तयारी, चुनौती तथा अपनाइएका रणनीतिहरूबारे जानकारी गराएको पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्कीले बताउनुभयो । प्रधानसेनापति सिक्देलले जिल्लाको शान्ति सुरक्षाको बारेमा जानकारी लिएको र चुनावमा नेपाली सेनाले निर्वाह गर्नु पर्ने भूमिकाको बारेमा आवश्यक निर्देशन समेत दिनुभएको सेनानी कार्कीले बताउनुभयो । 

प्रधानसेनापति सिग्देलले सुरक्षा निकायहरूलाई निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, आपसी समन्वय मजबुत बनाउन तथा नागरिकमा सुरक्षा प्रत्याभूति दिलाउने गरी कार्य गर्न निर्देशन दिनुभएको बताइएको छ । उहाँले शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै जिम्मेवारीप्रति सचेत र सक्रिय रहन आग्रह गर्नुभएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र नं. १ मा ५२ मतदान स्थल र १६० मतदान केन्द्र रहेका छन भने क्षेत्र नं. २ मा ५१ मतदान स्थल र ११५ मतदान केन्द्र रहेकाछन । यसरी जिल्लाभर कुल १०३ मतदान स्थल र २७५ मतदान केन्द्रमार्फत फागुन २१ गते मतदान सञ्चालन हुने तयारी गरिएको सवै मतदानस्थलहरुमा नेपाली सेनाले भरपर्दाे सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 

निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन गाईघाटस्थित पशुपतिप्रसाद गणको नेतृत्वमा जिल्लाका आठवटै पालिकाका १६ स्थानमा नेपाली सेनालाई परिचालन गरिएको प्रमुख सेनानी कार्कीले बताउनुभयो ।

प्रकाशित मिति: १२ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्