काँग्रेस सभापति गगन थापा भोलि नेपालगन्ज आउँदै



नेपालगञ्ज । नेपाली काँग्रेसका सभापति गगनकुमार थापा भोलि नेपालगञ्ज आउने भएका छन् ।

नेपाली काँग्रेस बाँके निर्वाचन परिचालन मूल समिति एवं प्रचार-प्रसार समितिको आयोजनामा बिहीबार हुन लागेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्न सभापति थापा नेपालगञ्ज आउन लागेका हुन् ।

काँग्रेस सभापति भएपछि उनी पहिलो पटक पश्चिम नेपाल आउन लागेका हुन् ।

बाँकेको जानकी गाउँपालिकामा सोही दिन नेपाली काँग्रेस बाँकेले जिल्ला स्तरीय बृहत आमसभाको आयोजना गर्दैछ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित जिल्ला स्तरीय बृहत आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काँग्रेस, बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर–३ नेपालगन्ज–गुलरिया सडकखण्ड स्थित होटल पौवा नजिकैको पूर्वतर्फको खाली जग्गामा बृहत आमसभा आयोजना गरिदैछ । बृहत आमसभाको संयोजन नेपाली काँग्रेस, बाँके निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले गरेको जनाइएको छ।

बाँकेको मुटुमा गगनको आवाजु नारासहित व्यापक प्रचार-प्रसार थालिएको छ । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका थापाले समसामयिक राजनीतिक परिवेश र काँग्रेसका विषयमा आफ्नो धारणा राख्नेछन् । बृहत आमसभामा जनसमुदायलाई सहभागि हुन नेपाली काँग्रेस, बाँकेले आव्हान समेत गरेको छ ।

आमसभामा सभापति थापासहित केन्द्रिय तहका नेताहरु, बाँके जिल्लाको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार लगायत पार्टीका अन्य जिल्लातहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने जनाइएको छ ।

बाँकेमा काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ मा नारायण प्रसाद गौडेल, क्षेत्र नं. २ मा शुधान्सु कोइराला र बाँके क्षेत्र नं. ३ मा अमरसिंह पुन प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा प्रतिष्पर्धामा छन् भने समानुपातिक उम्मेदवारका रुपमा दिप नाराण बर्मा र दुखिराम लोनिया छन् । नेपाली काँग्रेसको नेतृत्वमा गगन आएपछि चौतर्फी काँग्रेसको पक्षमा लहर चलेको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्