वीरगञ्ज नाकाबाट ७ महिनामा १९ अर्ब ५७ करोड बढीको खाद्यान्न आयात
वीरगञ्ज १३ फागुन । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार (आईसिपी) हुँदै आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा १९ अर्ब ५७ करोड भन्दा बढीको दलहन तथा खाद्यान्न भित्रिएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद ज्ञवालीले गत आर्थिक वर्ष २०८१/०८२ को ७ महिनामा वीरगञ्ज नाकाबाट २३ अर्ब ७६ करोड मूल्य बराबरको दलहन तथा खाद्यान्न आयात भएकोमा यस आर्थिक वर्षमा गत वर्षको भन्दा ४ अर्ब १९ करोडको कम खाद्यान्न आयात भएको बताउनुभयो ।
खाद्यान्न तथा दलहन आयात घट्नुले नेपाली उत्पादन बढ्दै गएको तथ्य प्रमाणित भएको भन्सारले जनाएको छ ।
वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ को ७ महिनामा १६ अर्ब ९४ करोड ११ लाख २७ हजार मूल्य बराबरको धान, चामल, मकै, कोदो लगायतका खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा यस आर्थिक वर्षको ७ महिनामा १४ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । गत वर्षको तुलनामा यस आर्थिक वर्षको ७ महिनामा खाद्यान्न आयात ११ दशमलब २९ प्रतिशतले घटेको छ ।
त्यसैगरी वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को ७ महिनामा ४ अर्ब ९५ करोड मूल्य बराबरको दलहन भित्रिएको छ । दलहनमा मुख्य गरी मुसुरो, मुंग, मास, रहर लगायतका खाद्यान्न रहेका छन् ।
यता वीरगञ्ज भन्सार आईसिपी नाकाबाट साउन, भदौ, असोज, कार्तिक, मङ्सिर, पुष र माघ महिनामा गत वर्ष ६ अर्ब ८२ करोड मूल्य बराबरको दलहन भित्रिएको थियो । गत वर्षको तुलनामा यस आर्थिक वर्षको ७ महिनामा दलहन आयातमा २७ दशमलव ४२ प्रतिशतले गिरावट आएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार
















