तारकेश्वरमा दिनदहाडै ५ लाखभन्दा बढीको धनमाल चोरी



काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिकामा एक व्यक्तिको डेराबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ। तारकेश्वर नगरपालिका१० स्थित छन्त्याल चोकमा डेरा गरी बस्ने लिला परियारको कोठामा बुधबार दिउँसो चोरी भएको हो।

लम्जुङ घर भएकी परियारको कोठाबाट नगदसहित सुनको सिक्री १ थान र सुनको मुन्द्रा १ जोर चोरी भएको छ। पीडितका अनुसार चोरी भएको नगद र सुनका गरगहनाको बजार मूल्य करिब ५ लाख ५० हजार रूपैयाँ बराबर रहेको छ। परिवारका सदस्यहरू बाहिर गएको मौका छोपी चोरले कोठामा प्रवेश गरेर धनमाल हात पारेको प्रहरीले जनाएको छ।

घटना लगतै पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ। चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्