तनहुँ–१ मा गोविन्द भट्टराई अग्रपंक्तिमा
तनहुँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिएका बालेन्द्र साह ‘बालेन’ चुनावी मैदानमा होमिएको झापाको क्षेत्र नं. ५ यतिबेला राष्ट्रिय राजनीतिक चासोको केन्द्र बनेको छ।
झापा–५ सँगै तनहुँ–१ पनि यतिबेला चर्चामा छ । निर्वाचन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बनेको छ। राजनीतिक दल र उम्मेदवारहरू घरदैलो, कोणसभा र भेटघाटलाई बढाउँदै मतदातासमक्ष आफ्ना एजेन्डा राखिरहेका छन्।
तनहुँ–१ मा यसपटक १६ जना उम्मेदवार चुनावी मैदानमा छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचन २०७९ मा यस क्षेत्रबाट रामचन्द्र पौडेल प्रत्यक्षतर्फ निर्वाचित भएका थिए। उनी राष्ट्रपति निर्वाचित भएपछि भएको उपनिर्वाचनमा स्वर्णिम वाग्ले विजयी भएका थिए । वाग्ले यसपटक पनि उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।
वाग्लेले घरदैलो कार्यक्रममार्फत मतदाताका गुनासा र सुझाव सुन्दै आफ्ना प्राथमिकता र योजनाबारे जानकारी दिइरहेका छन् । विकास, सुशासन र रोजगारीलाई मुख्य मुद्दा बनाएर उनी मतदातासमक्ष पुगिरहेको बताए ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट भगवती न्यौपाने, नेकपाबाट विद्यानाथ ढकाल तथा राप्रपाबाट रामदत्त जोशीसहितका उम्मेदवार प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगका अनुसार तनहुँ–१ मा एक लाख ३६ हजार ११८ मतदाता रहेका छन्। निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप तातिएको छ।
१६ जना उम्मेदवार भएपपिछ तनहुँ १ मा त्रिकोणात्मक प्रतिस्पर्धा छ । भट्टराई, वाग्ले र न्यौपानेबीच चर्को प्रस्पिर्धा हुने मतदाताहरु नै बताउँछन् ।
यद्यपी चुनावी मैदानको भित्री गणित हेर्दा गोविन्द भट्टराई स्पष्ट रूपमा अग्रपंक्तिमा देखिन थालेका छन्। संगठन, अनुभव र मत ध्रुवीकरणको समीकरणले कांग्रेसका उम्मेदवार भट्टराईलाई बलियो बनाएको छ।
सबैभन्दा महत्वपूर्ण पक्ष हो—कांग्रेसको परम्परागत आधार। तनहुँ लामो समयदेखि कांग्रेसको प्रभाव क्षेत्र मानिँदै आएको जिल्ला हो। गाउँ–टोलसम्म फैलिएको संगठन संरचना, पुराना कार्यकर्ताको सक्रियता र भावनात्मक मत आधार अहिले पुनः चलायमान भएको देखिन्छ।
यदि कांग्रेसको कोर भोट एकताबद्ध भयो भने परिणाम उल्ट्याउन सक्ने क्षमता भट्टराईसँग छ। संगठन संरचना सँगसँगै व्यक्तिगत छवि पनि उनको मुख्य शक्ति हो।
जिल्ला राजनीतिमा लामो समय सक्रिय रहँदै आएका भट्टराई संयमित, सन्तुलित र संगठनमैत्री नेताका रूपमा चिनिन्छन्। उनी कार्यकर्तामाझ स्वीकार्य छन् र स्थानीय मुद्दामा स्पष्ट धारणा राख्ने नेताका रूपमा स्थापित छन्।
यसबाहेक, मत विभाजनको समीकरणले कांग्रेसलाई फाइदा पुग्ने देखिन्छ। प्रतिस्पर्धी दलहरूबीच मत बाँडिँदा कांग्रेसको स्थायी मत बैंक निर्णायक बन्न सक्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार
















