सुर्खेत पुगेर गगन थापाले भने- नयाँ भनेर फेरि भुलभलैयामा पर्नुहुँदैन
सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णालीको विकासका लागि कानुनी प्रावधान नै फेर्नुपर्ने बताएका छन् ।
बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गदै कर्णालीमा उत्पादित मार्सीधान र यार्सागुम्बाको गीत गाएर मात्रै विकास नहुने बताएका हुन् ।
केही दिनअघि वीरेन्द्रनगरमै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पुराना शक्तिका कारण कर्णाली पछि परेको टिप्पणी गरेका थिए ।
बालेनको उक्त कुराको जवाफ दिदैँ उनले भने- ‘कर्णालीको यार्सागुम्बा, मार्सीधान र जडीबुटी भन्दै गीत गाएर मात्रै हुँदैन । अझै पनि ४० प्रतिशत गरिबी र बेरोजगारी बोकेर कर्णाली बसिरहेको छ रु यसको समीक्षा हुनुपर्छ । म आएपछि सबै ठिकठाक हुन्छ, पहिलाकाले गरेनन् भनेर भागेर मात्रै हुँदैन ।’
यसअघि कर्णालीबाट माओवादी पनि नयाँ भनेरै आए पनि केही नगरेको उनको भनाइ छ ।
नयाँ मात्रै भनेर केही नहुने तर्क गर्दै थापाले भने- ‘हिजो कर्णालीमा गाउँगाउँमा भाषण गर्दा माओवादीले के भनेको थियो ? २३०–३५ वर्ष राज्य सत्ता लुटे, अब हामी आउँछौँ। सत्ता लिएपछि गणतान्त्रिक सत्तामा सबै चमत्कार हुन्छ भनेको होइन ? देखेको होइन ?, ‘नयाँ भनेर फेरि भुलभलैयामा पर्नुहुँदैन ।’
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार
















