रविलाई लक्षित गर्दै गगनले भने– माओवादीले मान्छे मारिरहँदा विदेशमा मस्ती गर्नेले देश बनाउँछु भन्दा नपत्याउनु



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०८२ देखि पाँच वर्ष अब कांग्रेस नसुस्ताउने बताएका छन् । अबको पाँच वर्ष कांग्रेसका लागि काम गर्ने समय रहेको बताउँदै उनले कांग्रेस नेतृत्वको पाँच वर्षसम्मको सरकारमा भ्रष्टाचार भएको भन्ने कुरा जनताले सुन्न नपर्ने बताए।

बिहीबार सुर्खेतमा आयोजित चुनावी सभामा बोल्दै सभापति थापाले भने–‘त्यति मात्रै होइन २०४६ देखिका भ्रष्टाचार प्रकरणहरूको छानबिन गर्न आयोग गठन हुन्छ र आयोगले गरेको सिफारिस कार्यान्वयन पनि गरिन्छ । मेरै परिवारका कोही सदस्य परेका छन् भने पनि कारबाही गर्छु। यो कांग्रेस सभापतिको हैसियतले भनेको कुरा हो ।’

आगामी पाँच वर्षका लागि कुन दलको एजेन्डा के छ भन्ने विषयमा बहस गर्न आफू तयार रहेको बताउँदै उनले भने–‘आओस् नेकपा एमाले, आओस नेपाली कम्युनिस्ट पार्टी, आओस् राष्ट्रिय स्वतन्त्र पार्टी। एउटै मञ्चमा उभिऔं। पाँच वर्ष नेपालका निम्ति हाम्रो सोँच केहो, संकल्प के हो, हाम्रो योजना के हो यसको बारेमा छलफल गरौं भन्दाखेरि भट्टिमा बसेर एक अर्कामाथि गाली गरेर बसेका छन् ।’

अहिले देश पहिलेकाले बिगारेको भन्दिए पुग्ने पनि गगन थापाको भनाइ छ। उनले भने–‘एउटा कुरा भन्दिए पुग्यो यो देश एउटाले बिगारिदियो। म आउँछु म सम्हाल्छु। हिजो केही माओवादीले कर्णालीमा मान्छे मारिरहेको बेलामा नक्कली शरणार्थीको कागज बनाएर बाहिर गएर मस्ती मारिरहेकाहरू आज हाम्रो बीचमा घुमेर पाँच वर्षमा चटक गर्छु भन्दा कम्तिमा कर्णालीले नपत्याओस् ।’

अबको समय खेर फाल्ने छुट नरहेको बताउँदै सभापति थापाले भने–‘अब २०८२ देखि २०८७ सम्मको पाँच वर्ष देश र जनतालाई हामी सबैभन्दा स्वर्णिम काल हामी बनाउँछौँ ।’

बदलिएको कांग्रेसमा देशको उन्नतिको भोक रहेको बताउँदै उनले भने–‘‘पेटमा भोक छ, आँखामा सपना छ । हामी योजना बनाएर आएका छौँ, हामी सम्हालेर जान चाहेका छौं ।’

कर्णलीबासीसँग उनले अबको पाँच वर्ष अर्को प्रयोग नगर्न आग्रह समेत गरे । कर्णालीको विकासको फेरिहिस्त आफूसँग रहेको दाबी गर्दै सभापति थापाले नयाँ प्रयोग नगर्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्