कांग्रेसले आज तीन जिल्लामा आमसभा गर्दै, गगन-विश्वप्रकाशले सम्बोधन गर्ने



पोखरा । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज तीन जिल्लामा चुनावी आमसभाको आयोजना गरेको छ ।

पार्टीका अनुसार अहिले बिहान ११ बजे रूपन्देहीको बुटवल, दिउँसो १ बजे बागलुङ बजार र दिउँसो ३ बजे कास्की पोखराको अमरसिंहचौरमा चुनावी सभाको आयोजना गरिएको हो ।

तीन वटै आमसभालाई पार्टीका सभापति गगनकुमार थापा तथा उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्नेछन् ।

पोखराको अमरसिंहचौरमा हुने आमसभामा प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता सहभागी हुने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी गराएका छन् ।

आमसभामार्फत बदलिएको कांग्रेसको स्पष्ट विचार,नीति,कार्यशैली तथा आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिइने प्रवक्ता सिग्देलले बताए।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्