रुकुम पश्चिममा जनार्दन शर्मालाई कुलमानका उम्मेदवारको पनि समर्थन



रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले शुक्रबार पत्रकार सम्मेलनमार्फत रुकुमको समग्र विकासका लागि सबैभन्दा अनुभवी नेता भएकाले आफूले शर्मालाई समर्थन गरेको घोषणा गरेका हुन् ।

तत्कालीन माओवादी केन्द्रबाट शर्माले ०६४ सालदेखि लगातार चुनाव जित्दै आएका शर्मा नेकपाका संयोजक प्रचण्डको साथ छाडेपछि पहिलो पटक चुनावी मैदानमा छन्।

शर्माले जिल्लालाई विकास, सुशासन र समृद्धिको राष्ट्रिय नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आम मतदातालाई विकास र समृद्धिको पक्षमा उभिन आग्रह गर्दै भने, ‘हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो। रुकुमलाई देशकै मोडल जिल्ला बनाउने हाम्रो दृष्टिकोण हो। आगामी निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गरी विकासको पक्षमा एकजुट हुन म सम्पूर्ण मतदाताहरूमा हार्दिक आह्वान गर्दछु ।’
यसअघि एमालेले पनि शर्मालाई समर्थन गरेको छ ।

त्यहाँ कांग्रेसबाट राजु केसी, नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट गोपाल शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाहीलगायत उम्मेदवार छन्।

तर शर्मालाई विभिन्न दल र साना उम्मेदवारको साझा समर्थन प्राप्त भएसँगै रुकुम पश्चिमको निर्वाचनमा उनको जीतको सम्भावना बलियो देखिएको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्