निर्वाचन आचारसंहिता उल्लङ्घन घटना : झापामा बालेनअंकित टि–सर्ट जफत
झापा १५ फागुन। झापामा होलीका लागि भनेर बिक्री गर्न राखिएको निर्वाचनलाई प्रभावित पार्ने खालका २६२ वटा टि–सर्ट प्रहरीले जफत गरेको छ ।
झापाको बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका पसलबाट ती टि–सर्ट जफत गरिएका हुन् । हिजो दिउँसो बिर्तामोडबाट सबैभन्दा बढी १५५ वटा टि–सर्ट बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड ५ कृषि थोक छेउ र बिर्ता बजारबाट होलीलाई लक्षित गरी राखिएको ‘अब कि बार, बालेन सरकार’ र ‘यसपालिको होली बालेनसँग’ लेखिएको टि–सर्ट जफत गरिएको थियो । सोनु चौधरीले सञ्चालन गरेको सनाया कलेक्सनबाट २८ थान, गुण्डु साहले सञ्चालन गरेको दुर्गा इन्टरप्राइजेजबाट १४ थान, पूजा साहले सञ्चालन गरेको निकिता भेराइटिजबाट ४१ थान, विनोद साहले सञ्चालन गरेको मामा कलेक्सनबाट ४ थान, अरुण साहको पसलबाट ५७ थान, गणेश दत्तको पसलबाट ४ थान, अभि दत्तको पसलबाट २ थान ,रञ्जित महतोको पसलबाट ४ थान र रणकुमार साहको पसलबाट १ थान टि–सर्ट बरामद भएको हो ।
त्यस्तै मेचीनगरमा खनाल स्टोर्सबाट ३३ थान, छिरिङ स्टोरबाट १० थान, मङ्गल स्टोरबाट ४ थान र सुभम स्टोरबाट १७ थान टि–सर्ट बरामद गरिएको थियो ।
दमकमा सन्तोषकुमार साहले सञ्चालन गरेको सन्तोष रेडिमेड पसलबाट २० थान र पूर्णप्रसाद भण्डारीले सञ्चालन गरेको कृष्ण भेराइटीबाट एक थान गरी २१ थान टि–सर्ट प्रहरीले जफत गरेको छ ।
त्यस्तै बुद्धशान्तिमा २६ थान टि–सर्ट बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार
















